श्रम बजारमा काम गरेर आयआर्जन गर्ने काम रोजगारी हो । श्रम ऐनको परिभाषा अनुसार ‘श्रमिक’ भन्नाले पारिश्रामिक वा ज्याला लिएर रोजगारदाताका लागि शारीरिक र बौद्धिक (मानसिक) कार्य गर्ने व्यक्ति वा गुजारा चलाउन वा सेवा प्रदान गर्न आफ्नो श्रम बेच्ने व्यक्ति भन्ने बुझिन्छ । देशको आर्थिक विकासको मुख्य आधार नै उत्पादनशील रोजगारी हो । रोजगारी श्रमले मानवको आयआर्जन क्षमतामा वृद्धि गर्दछ । देशमा प्रत्येक नागरिक महिला वा पुरुष दुवैलाई रोजगारी श्रम छनोट गर्न पाउने हक हुन्छ । राज्यले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रदान गर्नुपर्दछ ।

देशमा प्रत्येक नागरिक महिला वा पुरुष दुवैलाई रोजगारी श्रम छनोट गर्न पाउने हक हुन्छ ।

सम्मानित काम, उचित पारिश्रमिक र हिंसारहित जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो । यही मानव अधिकारलाई मनन गर्दै १९ औँ शताब्दीबाट विश्वका विभिन्न देशमा महिला अधिकारका लागि श्रमिक महिलाहरूले आन्दोलन सुरु गरेका थिए । श्रमिक महिलाहरूको समान अधिकारको लागि पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चबाट आवाज उठाउने महिला जर्मनकी नेतृ ‘क्लारा जेटकिन’ थिइन् । त्यसपछि सोभियत संघका लाखौं श्रमिक महिलाहरूले आफ्नो अधिकारको निम्ति आन्दोलन गरेका थिए । फलस्वरूप सन् १९७५ लाई ‘अन्तर्राष्ट्रिय महिला दिवस’ को रुपमा घोषणा गरियो ।

Raje in coverनेपालमा भने २१ औं शताब्दीमा आइपुग्दा पनि श्रमिक महिलाहरूले आफ्नो अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । महिलाहरूले पुरुषको तुलनामा बढी कार्य गर्नुपर्ने बाध्यता छ । बिहानदेखि साँझसम्म कामका लागि रहनुपर्दछ । तर आर्थिक क्रियाकलाप अर्थात् आयआर्जनको दृष्टिले उनीहरूको योगदान त्यति महत्वपूर्ण हुन सकेको छैन । आर्थिक क्रियाकलापमा उनीहरूको संलग्नता पुरुषको तुलनामा न्यून रहेको छ । विक्रम सम्वत २०७८ को जनगणना अनुसार ३९.५% महिलाहरू आर्थिक रुपमा निष्क्रिय छन् ।

हाल आएर महिला स्वरोजगारको स्तर केही मात्रामा बढेता पनि महत्वपूर्ण आर्थिक निर्णय स्वतन्त्र रुपमा गर्न सक्ने महिलाहरू कमै छन् । 

आर्थिक रुपमा सक्रियताका आधारमा हेर्दा पनि उच्चस्तरीय पेशा, प्रशासनिक कार्य, कारिन्दा, व्यापार व्यवसाय, बजारको क्रियाकलापमा महिलाको संलग्नता निकै पछाडि रहेको छ । कृषि बाहेक अन्य पेशामा महिलाहरूको संलग्नता पुरुषको तुलनामा न्यून रहेको छ । अर्थोपार्जनमा संलग्न महिलाहरू सबैले उत्तिकै समय अवधिमा काम प्राप्त गर्न सकेका भने छैनन् । महिलाहरू नियमित रोजगारी भन्दा पनि कार्यगत रोजगारी (करार रोजगारी) मा बढी सक्रिय छन् । कार्यगत रोजगारीको ज्यालादर न्यून छ । हाल आएर महिला स्वरोजगारको स्तर केही मात्रामा बढेता पनि महत्वपूर्ण आर्थिक निर्णय स्वतन्त्र रुपमा गर्न सक्ने महिलाहरू कमै छन् । आर्थिक गतिशीलता पनि पुरुषको तुलनामा कम छ । देश बाहिर तथा स्थानीय परिवेशभन्दा टाढा गई काम गर्ने हैसियत राख्ने महिलाहरू कम भएको सन्दर्भमा नेपाली महिलाहरूको आर्थिक हैसियत कमै भएको प्रष्ट हुन्छ ।

...................

लेखक सामाजिक अध्ययन विषय अध्यापन गर्नुहुन्छ ।