भगवान रामको जन्म पौराणिक मान्यता अनुसार त्रेता युगको चैत महिनाको शुक्लपक्षको नवमी तिथि (रामनवमी)को दिन अयोध्यामा भएको थियो । उनी अयोध्याका राजा दशरथका छोरा थिए । जुन अहिले भारतको उत्तर प्रदेशमा पर्दछ । पौराणिक कथा अनुसार राजा दशरथको कुनै पनि सन्तान नहुनाले राजा दशरथले ‘पुत्रकामेष्टी यज्ञ’ गराएका थिए । यज्ञ गरेवापत नै उनले चार पुत्र जन्माएका थिए । राजा दशरथ र रानी कौशल्याबाट जेष्ठ पुत्रका रूपमा राम जन्मेका थिए । उनी भगवान विष्णुका सातौं अवतार मानिन्छन् । देवता तथा ऋषिलाई दुःख दिने, क्रूर राक्षसको नासको लागि र पृथ्वीको रक्षाको लागि श्रीरामको मनुष्य लोकमा जन्म भएको थियो । जसले जीवनभर नैतिकता, धर्म र मर्यादाको पालन गरे, उनलाई ‘मर्यादा पुरुषोत्तम राम’ पनि भनिन्छ । उनको शासनकाल ‘रामराज्य’ को रूपमा चिनिन्छ । उनी हिन्दुहरूका पूजनीय हुन् । श्रीरामका विशेष गुण जस्तै सत्य र धर्मको पालनकर्ता, आदर्श पुत्र, पति र राजा, दया–क्षमा र साहस, न्यायप्रियता र कर्तव्यनिष्ठता मननयोग्य छन् ।

हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद तथा संसदीय दलका प्रस्तावित नेता बालेन शाहले रामनवमीको दिन नै प्रधानमन्त्रीको भार सम्हाल्ने सपथ ग्रहण गर्दै नयाँ मन्त्रिमण्डलको विस्तार गर्दैछन् । जनमानसले पुरानो विरासतलाई अस्वीकार गर्दै लगभग दुईतिहाइ मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएका छन् । यो पार्टीलाई यति धेरै मत दिएर विजय गराउनु जनमानसको सुशासनको चाहना स्वरूप नै हो । अब जनमानस रामराज्यको अपेक्षा गर्दैछ । जहाँ भ्रष्टाचार नहोस्, जनआवाज राज्यको तिनै अङ्ग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) सम्म पुगोस् । राज्य सञ्चालन पारदर्शी बनोस् र अहिलेसम्म जुन दण्डहिनताले जरो गाडेर बसेको थियो त्यसको अन्त्य होस् भन्ने जन चाहना छ । नयाँ निर्वाचित सरकारलाई शासन व्यवस्था कसरी सञ्चालन गर्ने र अधिकार कसरी वितरण गर्ने भन्ने कुरामा धेरै चुनौतीहरु थपिएको छ । यी चुनौतीहरूलाई सामना गर्दै नयाँ व्यवस्थाले विश्वको लोकतान्त्रिक शासन पद्धतिलाई अंगाल्दै कर्तव्य–निष्ठ तरिकाले अगाडि बढ्दै जानुपर्दछ । यसमा समस्त नेपाली जनताको साथ र खबरदारी रहनेछ ।

..............