यसपटक पनि संसदमा धेरैवटा दलहरुको प्रतिनिधित्व हुने, सरकार निर्माणका लागि कम्तिमा चार पाँच दलको सहभागीता चाहिने, राजनैतिक अस्थिरता निरन्तर रहने, जेन्जी आन्दोलनको दोस्रो संस्करण झेल्नुपर्ने लगायतका आँकलनहरु थिए । त्यस्तो राजनैतिक अस्थिरता भन्दा कुनै न कुनै दलले जापान वा बङ्गलादेश जस्तै बहुमत ल्याएर कायापलट गरिदिए हाइसन्चो हुन्थ्यो भन्ने अपेक्षा पनि व्यक्त गरिन्थ्यो । मतगणनाको परिणामले यी आँकलनहरुलाई किनारा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइ बहुमत पुग्ने सिनेरियो देखिएको छ । गणतन्त्र स्थापनाको करिब दुई दशक वित्दै गर्दा राजनैतिक अस्थिरताले हैरान भएका हामी जनताका लागि कुनै पार्टीको दुईतिहाइको नतिजा आउनु शितल महशुस हुने विषय अवश्य हो ।

तर कुनै एक पार्टी त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ मत ल्याउँदैमा के ¥याङको ठ्याङ सबै ठिक हुन्छ त ? मुलुक सामान्य ढङ्गले अगाडी बढ्छ त ? यसको सिधा उत्तर हुन्छ– त्यो सम्भव छैन । अझ रास्वपाले दुईतिहाइ मत ल्याउनु नै नेपाल र नेपाली जनताका लागि दुर्भाग्यपुर्ण हुने अवस्था देखिन्छ ।

१) के हो रास्वपाको राजनैतिक कार्यदिशा ?

...कहाँ राखुँ कहाँ सजाऊँ

यति धेरै माया

गीत बनाई गाईरहुँ कि

तिम्रा सबै माया....

बद्रीदुर्गा खरेलले गाएको यो गीत अहिले ठ्याक्कै रास्वपालाई मिल्न जान्छ । चुनाव अघिसम्म सभापति रवि लामिछाने आफैले प्रत्यक्षमा ५०–५५ सिट ल्याउने दाबी गर्दै बहुमत आइदिए हुन्थ्यो भन्ने आसय व्यक्त गरेको सन्दर्भमा यो नतिजा स्वयं रास्वपाकै लागि अनपेक्षित हो । जनताले यति धेरै मत दिए कि अहिले रास्वपालाई के गरुँ, कहाँ सजाऊँ भइरहेको छ । ठुलो दल र प्रधानमन्त्री भएर नै सरकारको नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने भित्री आकाँक्षासम्म पालेका उनीहरुका लागि अब मतलाई कसरी सम्हाल्ने वा जनताको अपेक्षा कसरी पुरा गर्ने भन्ने ठुलो दबाब सिर्जना भएको छ । त्यो यसकारण पनि कि रास्वपा एउटा यस्तो पार्टी हो जसको राज्यसञ्चालन, संविधान, सङ्घीयता, अर्थ, वैदेशिक नीति, सेनासुरक्षा लगायतका महत्वपुर्ण मुद्धाहरुमा कुनै स्पष्ट नीति तथा कार्यक्रम देखिदैन । यो परम्परागत राजनितीको फ्रस्टेशनका बिच हुरि बतास जस्तै निर्माण भएर झोँक्कामै परिणाम निकालेको पार्टी हो । त्यसैले अबको प्रमुख जटिलता भनेको विगत दशकौँ देखि गिजोलिएर गाँठो परेको राजकाज उनीहरुले कुन विचार, सिद्धान्त र नीति अनुसार सञ्चालन गर्छन् भन्ने हो । सिँगो पार्टीको राजनैतिक कार्यदिशा प्रष्ट नभएकाले यो अवस्था आएको हो । 

२) राज्यसञ्चालनको विज्ञता र अनुभव

राज्य सञ्चालन भन्ने कुरा धेरै हदसम्म प्राविधिक हो । उमेर, उत्साह, जाँगर, साहस, जमर्को आदीले मात्र यो सम्भव हुँदैन । अस्पतालमा एमआरआई मेसिन चलाउन तालिमप्राप्त प्राविधिक चाहिन्छ । साइक्लिङ पनि नजानेको व्यक्तिलाई हेलिकोप्टर जिम्मा दियो भने यातायात सम्भव हुँदैन । पहिला अभ्यास गर्नुपर्छ । राज्यको कुन क्षेत्रलाई कुन नीतिले संवोधन गर्ने भन्ने खाका नै नभएको अवस्थामा रास्वपाले हाट्टहुट्टकै भरमा राज्यसञ्चालन गर्ने हो ? देश फेरि नयाँ द्वन्द्वमा फस्ने त होइन ? ठिक यहीनेर विज्ञता र अनुभवको कुरा आउँछ । 

राजनिती सत्ताकै लागि गर्ने हो । जब राजनिती सत्तासम्म पुग्छ, सत्तासञ्चालनको सामान्य सीपहरु अपेक्षा गर्दछ जुन सीप र अनुभव सहितका व्यक्तिहरुको उपस्थिती रास्वपामा कम देखिन्छ । सिङ्गो टिम नै नयाँ देखिन्छ तर नयाँ मात्र भनेर हुँदैन । दुईतिहाइ जनमत आयो भन्दैमा ट्रायल समय छुट्याउने छुट रास्वपालाई छैन जब की जिम्मेवारी पाएकै बेलादेखि डेलिभरि दिनसक्नुपर्ने अनिवार्य आवश्यकता छ । अग्रजहरुको अनुपस्थितीले निर्णय र कार्यान्वयनमा सन्तुलन नआउने जटिलता उत्तिकै देखिन्छ ।  

३) परिपक्वता, धैर्यता र शालिनता

युवाहरु स्वाभावैले जोशीला हुन्छन् । सबै काम, क्षेत्र, अवस्था आदीलाई एक निमेषमै भ्याईहालुँ भन्ने जाँगर पक्कै हुन्छ तर सिँगो देशकै बागडोर सम्हालेपछि त्यस्तो पनि सम्भव छैन । उमेरजन्य स्वाभावले गरिने व्यवहार अपरिपक्वता, अमर्यादा वा अनुशासनहिन जस्तो देखियो भने ठुलो व्यवहारिक तथा मानवीय कमजोरी हुन्छ । सरकारकै नेतृत्व गर्ने भएपछि परम्परागत सामान्य प्रोटोकलको कुराहरु आउँछ । सरकार भनेको सिँगो मुलुकको ऐना हो । यो अन्तरराष्ट्रिय परिवेशबाट पनि हेरिन्छ । सरकार सञ्चालन गर्नेले अन्तरराष्ट्रिय क्षेत्रमा देशलाई नै प्रतिनिधित्व गर्दछन् । यसमा शालिनता, धैर्यता र भलादमीपनको अति महत्व हुन्छ । भावि प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन शाहकै भाइरल भिडियोहरु हेरेर विचार गरौँ– हतार छ भन्दैमा पत्रकारका क्यामराहरु हुत्याउँदै, भीडमा आफ्ना फ्यानहरुलाई धकेल्दै, गाडीबाटै गजेन्द्रनारायण निधिको शालिकमा गुच्छा फाल्दै हिँड्ने एटिट्युट अब पाच्य हुँदैन । प्रधानमन्त्री भइसकेपछि पनि यस्तो अपरिपक्व र केटाकेटी व्यवहार देखिएमा मुलुककै छवि धुमिल हुनेछ । प्रधानमन्त्री भईसकेको व्यक्ति ‘केटौले छ, यस्तै हो’ भन्ने छुट पनि हुँदैन । २५–२६ वर्ष उमेर आसपासका थुप्रै उम्मेदवार अबको संसदमा निर्वाचित भएर आउँदैछन् । ३५ वर्ष हाराहारी पुगेका बालेनको रवैया त यस्तो छ भने भाइबहिनी माननीयहरुबाट के आशा गर्ने ? नीति निर्माण र राज्यसञ्चालनका सन्दर्भमा यिनले काम कसरी गर्लान् ? सुझबुझ के होला ? यसो सम्झिने हो भनेपनि उदेक लाग्दै देखिन्छ ।    

४) निरङ्कशुताको सम्भावना 

रास्वपाले अहिलेसम्म आफुलाई केपी ओली प्रवृत्तिको आलोचकका रुपमा उभ्याएको छ । खासगरी सरकार र पार्टी सञ्चालनमा निरङ्कुश शैली, जेन्जी आन्दोलनमा नेकपा एमालेले लिएको असहिष्णु लाइन आदीमा रास्वपा विपक्षमा रहेको पर्सेप्सन बनेको छ । यही कुरा निर्वाचनको परिणाममा प्रतिविम्बित भएको पनि देखिन्छ । तर रास्वपा आफैले दुईतिहाइ मत पाएर देशको तालाचाबी हातमा लिइरहँदा अब प्रश्न उठ्छ, के रास्वपाले संसदभित्रका बाँकी दलहरु र तिनका साँसदहरुको विज्ञता र अनुभवलाई सदुपयोग गरेर सँगै लिएर जाने शैली अवलम्बन गर्छ ? के संसद बाहिर राजनैतिक मुद्धाहरुमा भिन्न मत राख्ने दलहरुलाई छलफलको वातावरण दिन्छ ? कि भित्र वा बाहिर सबै शक्तिहरुलाई पेलेर वा निरङ्कुश भएर जान्छ ? के सर्वसाधारण जनताको पहुँच अब बन्ने सरकारमा हुन्छ ? के जनताले आफ्नो सरकारसँग प्रश्न गर्न पाउँछन् कि प्रश्न गरेकै आधारमा कारवाहीको भागीदार हुनुपर्ने हो ? काठमाण्डौको मेयर देखि हालसम्म देखिएको बालेन शाहको स्वभाव हेर्दा भने उनी लोयल भएर प्रस्तुत हुन्छन् भन्ने लाग्दैन । अथवा उनी अन्ततः निरङ्कुश भएरै अघि बढ्छन् भन्ने देखिन्छ । यदि यस्तो भएमा मुलुकमा राजनैतिक स्थिरता सम्भव हुनेछैन । दुईतिहाइको भएपनि सरकार झिना मसिनामै अल्झिरहनुपर्नेछ । 

५) दीर्घकालिन राजनितीको सम्भावना कम 

रास्वपासँग जनतालाई अहिले नै दिइहालुँ भन्ने केही छैन उत्साह, जाँगर र आँट बाहेक । जनतालाई भने अहिले नै डेलिभरि चाहिएको छ । तर यहाँ ‘जोगीको घरमा सन्यासी पाहुना’ चरितार्थ भएको छ । युवाजन्य हिम्मतले छलाङ मार्न त सकिएला तर राज्यको सही सञ्चालन गर्दै छलाङ मार्न गाह्रै पर्दछ । ‘नयाँहरुलाई एकपटक हेरौँ’ भन्ने जनताको मानसिकताले अहिले रास्वपाले अवसर पाएको छ । तर जनताले जसलाई आशा गरे, ऊ आफै खोक्रो छ । कुनै राजनैतिक कार्यदिशाका आधारमा रास्वपाले यो परिणाम निकालेको होइन । आखिर रास्वपा नेपाललाई कस्तो मुलुक बनाउन चाहन्छ ? केही स्पष्ट छैन । उखुम गर्मीमा उकालो हिँड्दा पानी नपाएर मही पिएरै भएपनि प्यास मेटाए झैँ जनताले रास्वपालाई ‘हेरौँ न त’ भनेर मौका दिएकाछन् । भोलि यावत कारणले जनताका अपेक्षाहरु पुरा हुन छाडे भने रास्वपा पनि विस्तारै मनहरुबाट उत्रिँदै जानेछ । मुलुकलाई स्पष्ट दिशानिर्देश गर्दै जाने लक्षण देखाउँदै गएमा सुदुर भविष्यकै लागि जनताको पार्टी भएर रहनेछ । तर अहिलेकै अवस्थामा भने रास्वपाको राजनिती टिकाउ राजनिती देखिदैन । मध्यावधि निर्वाचनको सम्भावनालाई नकार्न सकिदैन । 

६) नेता होइन जनता सच्चिन जरुरी 

आफ्नो पार्टी वा प्रतिनिधी परिवर्तन गर्न पाउनु जनताको स्वविवेकी अधिकारको कुरा हो । यो अधिकारको उपयोग जनताले चुनावमार्फत नै गर्ने हो । सम्पन्न निर्वाचनमा जनताले विचार र परम्परालाई तोडेर पार्टी र प्रतिनिधि परिवर्तन गरे । पार्टीगत हिसाबले धेरैको छनौटमा रास्वपा र केहीको छनौटमा अन्य दलहरु परे । तर जनतामा आधा चेतना मात्र आएको देखिन्छ । मतदाताले पार्टी र प्रतिनिधि परिवर्तन गर्नुपर्छ भन्ने चैँ बुझे तर विकल्पमा कस्तालाई छान्ने भन्ने चेत आउन बाँकी नै देखिन्छ । पार्टी र उम्मेदवार दुवै भरपर्दो, डेगीलो, नेतृत्व क्षमता भएको हुनुपर्छ भन्ने बुझ्न बाँकी नै देखिन्छ । आँखा चिम्लेर भोट दिने अन्धसंस्कार अझै बाँकी नै देखियो । कुन उम्मेदवारको योग्यता र क्षमता के हो ? उसले जितेमा के हुनसक्छ ? भनेर जाँचपड्ताल गर्ने प्रवृत्ति विकास भएको देखिएन । रास्वपाकै निर्वाचित अधिकाँश उम्मेदवारहरुलाई हेर्ने हो भने कुनैपनि संसदीय भूमिका खेल्न सक्ने क्षमता नभएका उम्मेदवारले दनादन भोट पाएर निर्वाचित भएको अवस्था छ । राजनिति, राज्यसञ्चालन, नीतिनिर्माण लगायत बारे सामान्यज्ञान समेत नभएका व्यक्तिहरु जितेकाछन् । पाइप तानेको, ढुङ्गा बोकेको, लुम्रे झुम्रे लुगा लगाएकै आधारमा जनताले जिताएकाछन् । संसद मैलाधैला लुगा लगाएर पाइप तान्ने ठाउँ होइन, पाइप कसरी र किन तान्ने भन्ने नीति बनाउने ठाउँ हो भनेर जनताले अझै बुझेका छैनन् । त्यसैले यसपटक अपुर्ण संसद बन्ने अवस्था देखिएको छ । आगामी संसदले ऐन, कानुन, नीतिमाथि तथ्य, प्रमाण, विज्ञता, अनुभव, खोज र अध्ययनका आधारमा गम्भिर बहस र निष्कर्षको थलो बन्ने अवसर गुमाउने देखिन्छ ।

७) आन्तरिक किचलोको सम्भावना

रास्वपामा खासगरी रवि लामिछानेको आन्तरिक कार्यशैलीप्रति सुरुवातदेखि नै प्रश्न उठेको हो । सहकारी सम्बन्धि उनको संलग्नतामाथि प्रश्न गर्ने नेता पनि पार्टीमा थुप्रै छन् । यसविचमा तत्कालिन महामन्त्री मुकुल ढकालले विद्रोह नै छेडे । प्रभावशाली नेता मानिने सुमना श्रेष्ठ र सन्तोष परियारले संवेदनशील मुद्धाहरुलाई कारण बनाएर क्रमशः पार्टी परित्याग गरेको त्यतिकै होइन भन्ने सहजै बुझ्न सकिन्छ । यस्तो अवस्थामा फरक पृष्ठभूमि र कार्यशैलीका बालेन शाह पार्टीमा मिसिए । उनको पार्टी प्रवेश हार्दिक भन्दा पनि चुनावलाई टार्गेट गरेर लाइनमा उभिदिएको जस्तो देखिन्छ । तर उनको लोकप्रियता र वेइटिङ प्राइममिनिस्टर भनेर उनलाई ‘सुट’ गरेको नारा रास्वपा लहरको मुख्य कारण भने प्रष्ट भएको छ । त्यसै त रवि ‘सहकारी ठग’ को ट्यागबाट मुक्त हुन सकेका छैनन् बरु उनको यो विवादित छवि पनि बालेनकै जबरजस्त लोकप्रियताले अहिलेलाई पखालेको जस्तो देखिन्छ । त्यसो त रवि आफैले पनि चुनाव जितेर आफ्नो लोकप्रियतामा कुनै आँच नआएको खुलेआम दाबी गर्ने अवस्थामा पुगेकाछन् । सत्ता यात्राका क्रममा यी यावत कारणले रवि र बालेन बिच नै टकराव सिर्जना हुनु र पार्टी आन्तरिक कलहमा फस्दै जानु अवश्यम्भावी देखिन्छ । यसो भएमा देश पुनः हामीले व्यहोर्दै आएको फोहरी संसदीय अङ्कगणितको खेलमा हुत्तिनेछ । प्रायः सबै दलहरु सत्ता, शक्ति र सुविधाकै आकर्षणका बिच गुट राजनितिमा फस्ने गरेकाछन् र यसमा रास्वपा अपवाद होला भन्ने आधार केही छैन । यसले पनि रास्वपाको दुईतिहाइ देश र जनताकै लागि दुर्भाग्यपुर्ण भएको तर्फ इङ्गीत गर्दछ ।

८) ओझेल परेका दुई मुद्धा

रास्वपा दुईतिहाइको यात्रामा अघि बढिरहँदा जेन्जीहरुको भावना संवोधन भएको त प्रष्ट छ तर मतपरिणामले दुई ज्वलन्त मुद्धाहरुलाई भने ओझेलमा पारिदिएको छ–पहिचानको आन्दोलन र राजावादी विचार । रास्वपाले आफुलाई यसअघि नै पहिचान र सङ्घीयताप्रति अनुदार प्रस्तुत गर्दै आएको छ । सम्पन्न निर्वाचनमा उम्मेदवार छनौट गर्ने सन्दर्भमा रास्वपाले समुदायलाई नजरअन्दाज गरेबाट पनि यो प्रमाणित हुन्छ । तर निर्वाचन परिणामले निस्तेज पारेको देखिएपनि यी दुवै सुषुप्त रुपमा जिवितै रहने मुद्धा हुन् । जसरी ड्रागन फ्रुटको हाँगाको टुक्रा जहाँ खसेपनि त्यहीबाट उम्रिन सुरु गर्दछ । यी मुद्धाका अभियन्ताहरुले अब जनताले अस्विकार गरेको अर्थमा होइन कि हावाहुरिमा परेकाले बढारिनुपरेको अर्थमा बुझ्नेछन् । समयक्रममा भित्रभित्रै सशक्त आन्दोलनका खाकाहरु तयार हुँदै जानेछन् र भोलि आन्दोलन सडकमा आइपुग्नेछ । यस्तो अवस्थामा रास्वपाले आन्दोलनको संवोधन र व्यवस्थापन कसरी गर्छ ? यो विषय थप जटिल देखिन्छ ।         

................